२०८३ असोज २ शुक्रबार

निर्माण उद्योग संकटमा, ‘आपतकाल’ घोषणा गर्न व्यवसायीको माग

ई आर्थिक    शुक्रबार, चैत्र २७ २०८२
1.5K
Shares
निर्माण उद्योग संकटमा, ‘आपतकाल’ घोषणा गर्न व्यवसायीको माग

काठमाडौं ।  इन्धन तथा निर्माण सामाग्रीको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै बागमती प्रदेश निर्माण व्यवसायी महासंघले ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गर्न माग गरेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वमा जारी युद्धको प्रभावले डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको मूल्यमा पटक–पटक अप्रत्याशित वृद्धि भएको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको जनाएको छ। इन्धनसँगै विटुमिन, सिमेन्ट, डण्डी जस्ता अत्यावश्यक निर्माण सामाग्रीको मूल्यसमेत निरन्तर बढिरहेको र बजारमा अभाव देखिएको कारण उद्योग संकटमा पुगेको महासंघको भनाइ छ।

त्यस्तै, देशका विभिन्न स्थानमा देखिएका कच्चा पदार्थ (कसर) उद्योगसम्बन्धी समस्याले निर्माण क्षेत्रलाई थप प्रभावित बनाएको उल्लेख गरिएको छ। महासंघका अनुसार यस विषयमा प्रदेश सरकार र नेपाल सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म समस्या समाधानका लागि प्रभावकारी कदम चालिएको छैन।

हालको मूल्य समायोजन प्रणाली राष्ट्र बैंकको सूचकांकमा आधारित रहेकाले वास्तविक बजार मूल्यवृद्धि प्रतिबिम्बित नभएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। यसले गर्दा निर्माण व्यवसायीहरूमा थप आर्थिक भार परेको महासंघले जनाएको छ।

महासंघका महासचिव चन्द्र कुमार वाइवाले निर्माण उद्योग जोगाउन तत्काल राहत प्याकेज ल्याउन, ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ तुरुन्त जारी गर्न तथा सबै ठेक्कामा मूल्य समायोजनको व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।

महासंघले निर्माण क्षेत्रमा देखिएको वर्तमान संकटलाई गम्भीर रूपमा लिएर तत्काल आवश्यक नीति तथा निर्णय लिन सरकारसमक्ष अपील गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij