२०८३ भाद्र २९ सोमबार

विदेश त्यागेर पुख्र्यौली पेशामा

ई आर्थिक    बिहिबार, साउन १९ २०७४
4.2K
Shares
विदेश त्यागेर पुख्र्यौली पेशामा

१९ साउन, बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँकोटका देवीलाल, कृष्णबहादुर र रामबहादुर विकले पुख्र्यौली सीपलाई व्यावसायिक बनाएका छन् ।

धेरै पैसा कमाउने आशामा कुनै समय विदेशिएका तीनै दाजुभाइ अहिले गाउँमै कालीगढका रुपमा परिचित छन् । विदेशबाट फर्केर रोजेको पेशाले उनीहरुलाई सफल उद्यमीका रुपमा चिनाएको छ ।

“विदेशको भन्दा राम्रो कमाई यहीँ छ”, कृष्णबहादुर भन्नुभयो, “आफ्नै थलोमा रोजेको पेशामा रमाएका छौँ ।” विदेशबाट फर्केपछि तीनैजनाले गलकोट नगरपालिका–३ हटियामा व्यवसाय सञ्चलाउन गर्नुभयो । विक दाजुभाइले भाँडा पसल खोलेको ७ वर्ष भएको छ । एक लाख रुपैयाँको लगानीमा स्थापना गरेको सो पसलमा उनीहरुलाई विभिन्न भाँडाकुँडा बनाउन भ्याइनभ्याई छ ।

पुरानो आरनसँगै केही नयाँ उपकरणसमेत जोडेर पसलको स्तर बढाउने काम गरिएको कृष्णबहादुरका दाइ देवीलालले बताउनुभयो । उहाँका अनुसार पसलमा मुख्य गरी तामा र फलामका भाँडाकुँडा र सामग्री बनाइन्छ । नौमती बाजा, घरायसी प्रयोजनका भाँडाकुँडा, औजार, घरेलु हतियार, पूजामा चाहिने भाँडा लगायतका सामान उनीहरुले बनाउने गरेका छन् ।

“नयाँ तामाको भाँडा बनाएर बेच्दा प्रतिकिलो रु तीन हजार लिने गरेका छौँ”, विकले भन्नुभयो, “ग्राहकले पुरानो भाँडा लिएर आए प्रतिकिलो रु एक हजार ५०० लिन्छौँ ।” पसलबाट बढी मात्रामा तामाका गाग्री बिक्री हुन्छ । फलामका हँसिया, बञ्चरो, खुकुरी, भाला लगायतका सामान मागअनुसार बनाउने गरिन्छ ।

“कामले विश्वास जितेका छौँ”, कृष्णबहादुरले भन्नुभयो, “हाम्रो सबथोक यही पेशा हो ।” उनीहरुले प्रतिव्यक्ति मासिक रु ३० हजारसम्म आम्दानी गर्ने गरेका छन् । नासिँदै गएको पुख्र्यौली आरन पेशा जोगाउन सकेकामा तीनैजना दाजुभाइ सन्तुष्ट छन् । “पुख्र्यौली पेशा गर्न पाउँदा हामी खुशी छौँ,” विक दाजुभाइ भन्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij