ई–आर्थिक, बझाङ : बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको होनैनाथ गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ । स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित उक्त गार्मेन्टमा गयराति करिब १२ः४५ बजे विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ ।
जस्तापाताले छाएको एकतले तीन कोठे कच्ची भवनमा सञ्चालित उक्त उद्योग आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाका अनुसार घटनाको जानकारी राति करिब १ः३० बजे प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका छन् भने मानवीय र चौपायाको भने कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आगलागी भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ ।