२०८३ मंसिर १२ शुक्रबार

३० हजार मेगावाट विद्युत् उत्पादनका लागि नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार

ई आर्थिक    बिहिबार, मंसिर ११ २०८३
285
Shares
३० हजार मेगावाट विद्युत् उत्पादनका लागि नयाँ ऊर्जा मिश्रणको ढाँचा बनाउँदै सरकार

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ। जलविद्युत्मा मात्रै निर्भर रहँदा मौसमी रूपमा विद्युत् उत्पादनमा असन्तुलन देखिएको र पुरानो ऊर्जा मिश्रणले नयाँ लक्ष्य पूरा गर्न नसक्ने भएपछि सरकारले नयाँ ढाँचा बनाउन लागेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ऊर्जा मिश्रणको खाका तयार गरिरहेको छ।

ऊर्जामन्त्री बिराभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया पुनः सञ्चालन गर्न सहज हुनेछ। नयाँ ढाँचाले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधारसमेत तय गर्नेछ।

हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब चार हजार २०० मेगावाट पुगेको छ। उत्पादनको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट प्राप्त हुँदै आएको छ। यस्ता आयोजनाबाट वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने भएकाले मौसमी असन्तुलन न्यूनीकरण गर्न ऊर्जा स्रोतको विविधीकरण आवश्यक देखिएको छ।

यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार बनाएर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। उक्त ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाही आयोजनाको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको पाँचदेखि १० प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको थियो। सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो।

तर, २०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्‍याएपछि सोहीअनुसार विद्युत् खरिद सम्झौता प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले एक हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको विद्युत् खरिद सम्झौता स्वीकृत गरेको थियो।

गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि भने विद्युत् खरिद सम्झौता प्रक्रिया थप प्रभावित बनेको छ। त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पिपिएसमेत रोकिएको छ।

प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग छ हजार ७१३.४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग चार हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ। तर, थप २८१ आयोजनासहित कुल १६ हजार ४२५.७७ मेगावाट क्षमताका आयोजना पिपिएको प्रतीक्षामा छन्।

विद्युत् खरिद सम्झौता नहुँदा आयोजना विकासका लागि आवश्यक वित्तीय व्यवस्थापनमा समस्या हुँदै आएको छ। बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पिपिएलाई आयोजना निर्माणका लागि लगानी जुटाउने प्रमुख आधार मानिन्छ। नयाँ ऊर्जा मिश्रणले पिपिए प्रक्रिया अघि बढाउन सहज बनाउनुका साथै निजी क्षेत्रको लगानी, आयोजना निर्माण र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नयाँ ढाँचामा सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई समेत प्राथमिकताका साथ समेट्ने तयारी छ। जलविद्युत्मा अत्यधिक निर्भर हुँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ। यस्तो निर्भरता घटाउन वैकल्पिक ऊर्जा स्रोतको विकास र विस्तारलाई जोड दिन लागिएको हो।

विशेषगरी जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले विद्युत् सञ्चय गरी मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सक्नेछन्। त्यस्तै, सौर्य तथा वायु ऊर्जाको विकासले उत्पादनका स्रोत र समयगत विविधता बढाउन सहयोग पुर्‍याउनेछ।

सरकारले नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गरेपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको प्रकृति र आवश्यकताका आधारमा पिपिए प्रक्रिया अघि बढाउन सक्ने अपेक्षा गरिएको छ। यसबाट लगानीको प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा प्रवेश गर्ने विश्वास गरिएको छ।

यद्यपि, ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तार मात्रै पर्याप्त हुने छैन। आन्तरिक विद्युत् खपत बढाउने, प्रसारण पूर्वाधार विस्तार गर्ने र अन्तरदेशीय विद्युत् व्यापारलाई समेत सँगसँगै अघि बढाउनुपर्ने चुनौती छ।

भारतसँगै बङ्गलादेशमा पनि विद्युत् निर्यातको सम्भावना विस्तार भइरहेको अवस्थामा सन्तुलित ऊर्जा मिश्रणले निर्यातयोग्य विद्युत् उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij