काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित एकजना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार आज बिहान १:२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
उनले मलद्वारभित्र सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाइछिपाइ ल्याएको फेला पारेपछि निजलाई प्रहरीले नियन्त्रण लिएको थियो।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानूनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको सहप्रवक्ता न्यौपानेले बताए। रासस