२०८३ मंसिर ४ बिहिबार

छठ महापर्वमा अध्यक्ष कुलमान घिसिङको सहभागिता, मधेशमा जनसम्पर्क तथा संगठन विस्तार

ई आर्थिक    बुधबार, मंसिर ३ २०८३
418
Shares
छठ महापर्वमा अध्यक्ष कुलमान घिसिङको सहभागिता, मधेशमा जनसम्पर्क तथा संगठन विस्तार

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पत्नी दीपा घिसिङ र पार्टीका महासचिव दिवाकर अर्यालसहित मधेश प्रदेशको सिरहा जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमा पुगेर छठ महापर्व मनाउनुभएको छ।

उहाँले ऐतिहासिक सलहेश फूलबारी, हरिटिया दुर्गा मन्दिरस्थित सुब्बा पोखरीलगायत विभिन्न सातवटा पोखरी तथा छठघाटमा पुगेर स्थानीय व्रतालु, श्रद्धालु र सर्वसाधारणसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्नुभएको थियो।

अध्यक्ष घिसिङले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी माताको पूजा आराधना गर्नुभयो। त्यसैगरी, सोमबार बिहान लहानस्थित खुट्टीखोला घाटमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक छठ महापर्वको समापन गर्नुभयो।

अध्यक्ष घिसिङले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, अनुशासन, समानता, सामाजिक सद्भाव, आशा र सकारात्मक परिवर्तनको सन्देश दिने बताउनुभयो। उहाँले अस्ताउँदो र उदाउँदो सूर्यको आराधनाले अन्धकारपछि उज्यालो आउने र निराशापछि आशा पलाउने विश्वास दिलाउने उल्लेख गर्नुभयो।

मधेशको भाषा, संस्कृति र परम्परा सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले मधेशको विकाससँग नेपालको समग्र समृद्धि जोडिएको धारणा व्यक्त गर्नुभयो। मधेशमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा आर्थिक अवसर विस्तार गर्नुपर्ने र विकासका अवसरबाट कुनै पनि क्षेत्र वा समुदाय पछाडि पर्न नहुनेमा उहाँले जोड दिनुभयो।

मधेश भ्रमणकै क्रममा सर्लाहीको लालबन्दीमा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा लामो समयदेखि माओवादी राजनीतिमा सक्रिय युवा नेता श्याम श्रेष्ठसहित विभिन्न दलमा आबद्ध दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएको छ।

चुरेभावरबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका लालबन्दी निवासी श्रेष्ठले स्थानीय विकासका लागि परिणाममुखी, गतिशील र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउँदै ठोस योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, बाराको कलैयामा आयोजित कार्यक्रममा जनअधिकार पार्टीका बारा जिल्ला अध्यक्ष सञ्जयकुमार सहनी, उपाध्यक्ष सर्वजित यादव, सचिव दीपक यादव, जिल्ला सदस्य रामबिलासी सहनी, मदन सहनी, फिरोज अन्सारी, मुस्ताक मियाँ, खातुन सहनी, नन्दलाल साह, सरोज पासवान र श्रीलाल साह उज्यालो नेपाल पार्टीमा आबद्ध हुनुभएको छ। स्वतन्त्र उम्मेदवार राजकुमार साह, जनमत पार्टीकी सदस्य रोसनी साह तथा समाजसेवी रिंकुकुमार यादव पनि पार्टीमा प्रवेश गर्नुभएको छ।

अध्यक्ष घिसिङले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुरूप सक्रिय भूमिका निर्वाह गर्न शुभकामना दिनुभयो। उहाँले स्थानीय आवश्यकता, जनजीविका र विकासका विषयलाई प्राथमिकता दिँदै नागरिकसँग निरन्तर संवाद र सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंह पराग, केन्द्रीय सदस्य रामबाबु साह, हसनजन मियाँलगायत प्रदेश तथा स्थानीय तहका नेता एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij