काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गरेका छन् ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै ऋग्वेदमा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको सुन्दर स्तुति गरिएको स्मरण गरेका छन् ।
“वैदिक परम्परामा उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ,” थापाले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ ।
सभापति थापाले छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने कामनासमेत गरेका छन् ।