२०८३ कार्तिक ३० आइतबार

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, भारतीय रेल्वेबाट स्वीकृति

ई आर्थिक    आइतबार, कार्तिक ३० २०८३
228
Shares
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, भारतीय रेल्वेबाट स्वीकृति

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। नेपाल र भारतबीच सीमापार रेल सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय रेल्वेले उक्त रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको हो।

भारतको प्रेस सूचना ब्युरो (पीआईबी) ले शनिबार (१४ नोभेम्बर २०२६) सार्वजनिक गरेको विवरणअनुसार करिब ६०४ किलोमिटर दूरीको रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ। रेलले जनकपुरधामलाई भारतको अयोध्या क्यान्ट रेल्वे स्टेसनसँग जोड्नेछ।

प्रस्तावित तालिकाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्नेछ। यद्यपि, रेल सेवा सञ्चालन हुने मिति, भाडादर तथा विस्तृत समयतालिका भने सार्वजनिक गरिएको छैन।

रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ। भारतीय रेल्वेका अनुसार जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्।

रामायण परम्परासँग गहिरो सम्बन्ध रहेका जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्न लागिएको हो। जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा श्रद्धा गरिन्छ। नयाँ रेल सेवाले दुवै धार्मिक स्थलमा पुग्ने तीर्थयात्री तथा पर्यटकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

भारतीय रेल्वेले यस सेवाबाट धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। विशेषगरी रामायणसँग सम्बन्धित धार्मिक पर्यटन मार्गको विकासमा रेल सेवाले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसैगरी, रेल सेवाले शिक्षा, व्यापार तथा पारिवारिक प्रयोजनका लागि दुई देशबीच आवतजावत गर्ने नागरिकलाई समेत सहजता प्रदान गर्नेछ। सीमावर्ती क्षेत्रका बासिन्दाले थप यातायात विकल्प पाउने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने भारतीय पक्षको अपेक्षा छ।

रेलमार्ग सञ्चालनमा आएपछि मार्ग आसपासका पर्यटन व्यवसाय, होटल, आतिथ्य सेवा, स्थानीय व्यापार तथा हस्तकलासम्बन्धी व्यवसायले समेत लाभ लिन सक्नेछन्।

नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अघि बढाइएको यस पहलले दुई देशबीचको सीमापार सम्पर्क विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

तर, भारतीय रेल्वेले सेवा सञ्चालनको स्वीकृति दिएको जानकारी सार्वजनिक गरे पनि रेल सेवा कहिलेदेखि नियमित रूपमा सञ्चालनमा आउने भन्नेबारे स्पष्ट मिति भने तोकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij