२०८३ कार्तिक २६ बुधबार

आज भाइटीका मनाइँदै, उत्तम साइत बिहान ११ः०७ बजे

ई आर्थिक    बुधबार, कार्तिक २६ २०८३
608
Shares
आज भाइटीका मनाइँदै, उत्तम साइत बिहान ११ः०७ बजे

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज बुधबार देशभर भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाएर भाइटीका मनाउन लागेका हुन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिनभर भाइटीका लगाउन कुनै बाधा नरहे पनि उत्तम साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय निर्धारण गरिएको छ। यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र टीका लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने समितिले जनाएको छ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रकट गर्ने विशेष पर्व हो। यस अवसरमा दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने परम्परा छ।

धार्मिक विधिअनुसार लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजलगायत देवीदेवताको आराधना गरिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका र माला लगाइदिने चलन छ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने गर्छन्। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा तथा सौभाग्यका प्रतीक उपहार दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा रहेको छ।

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। रङ्गीचङ्गी टीका र फूलका मालाले सजिएको यस पर्वले पारिवारिक एकता, आपसी प्रेम, सद्भाव र आत्मीयताको सन्देशसमेत प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij