२०८३ कार्तिक २६ बुधबार

चीनले अमेरिकी वस्तुमा २४ प्रतिशत भन्सार शुल्कको छुट दुई महिना थप्याे

ई आर्थिक    मंगलबार, कार्तिक २५ २०८३
266
Shares
चीनले अमेरिकी वस्तुमा २४ प्रतिशत भन्सार शुल्कको छुट दुई महिना थप्याे

काठमाडौं । चीन र अमेरिकाबीच जारी व्यापारिक तनाव तत्काल थप चर्किन नदिन चीनले अमेरिकी वस्तुमा लगाउँदै आएको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्कको निलम्बन अवधि थप दुई महिना लम्ब्याएको छ। तर अमेरिकी वस्तुमा लाग्दै आएको १० प्रतिशत अतिरिक्त शुल्क भने यथावत् रहनेछ।

चीनको भन्सार शुल्क आयोगले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार नोभेम्बर १० देखि लागू हुने गरी आगामी दुई महिनासम्म २४ प्रतिशत शुल्क स्थगित रहनेछ। यो निर्णय गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सहमति कार्यान्वयनको निरन्तरता भएको जनाइएको छ।

यसअघि सन् २०२५ मा दुई देशबीच व्यापार युद्ध चर्किएपछि चीनले अमेरिकी वस्तुमा अतिरिक्त भन्सार शुल्क १२५ प्रतिशतसम्म पुर्‍याएको थियो। पछि वार्तामार्फत शुल्क घटाएर १० प्रतिशत कायम गरिएको र थप २४ प्रतिशत शुल्क निलम्बन गरिएको थियो। त्यसयता निलम्बनको अवधि पटकपटक थपिँदै आएको छ।

पछिल्लो निर्णयसँगै चीनले अमेरिकाको आगामी भन्सार नीतिलाई पनि नजिकबाट नियाल्ने जनाएको छ। विशेषगरी अमेरिकी अदालतले अमान्य ठहर गरेका शुल्कलाई व्यापार ऐनको धारा ३०१ अन्तर्गत पुनः लागू गर्ने अमेरिकी योजनाप्रति चीनको चासो देखिएको छ।

यसैबीच, दुई देशबीच करिब ६० अर्ब अमेरिकी डलर बराबरका गैरसंवेदनशील वस्तुमा भन्सार सहुलियत दिने प्रस्तावसमेत अघि बढाइएको छ। अमेरिकाले चीनबाट कृषि उत्पादनको खरिद बढाउने प्रतिबद्धता जनाएको विषय पनि व्यापार वार्ताको महत्त्वपूर्ण हिस्सा बनेको छ।

पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्रबीच तत्कालका लागि व्यापारिक तनाव कम गर्ने संकेत गरे पनि शुल्क छुटको अवधि दुई महिनाका लागि मात्रै थपिएकाले दीर्घकालीन व्यापारिक सहमति हुनेमा अझै अनिश्चितता कायम छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij