२०८३ कार्तिक २६ बुधबार

मध्यपहाडी लोकमार्गको कास्की खण्डमा तीन पक्की पुल निर्माण, यात्रा सहज

ई आर्थिक    मंगलबार, कार्तिक २५ २०८३
247
Shares
मध्यपहाडी लोकमार्गको कास्की खण्डमा तीन पक्की पुल निर्माण, यात्रा सहज

कास्की।  राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ।

पोखरा महानगरपालिका-२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुईवटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो। यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो।

पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आएका चालक बुद्ध गुरुङ पुल निर्माणपछि यात्रा सहज भएको बताउँछन्। पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उनको अनुभव छ।

‘पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो। कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपर्थ्यो। अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ। गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ’, चालक गुरुङले भने।

मध्यपहाडी लोकमार्गको कास्की खण्डमा २१ करोड ५९ लाख ७८ हजार रूपैयाँ लागतमा तीनवटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए।

उनका अनुसार पोखरा महानगरपालिका-२५ स्थित याम्दी खोलामा दुईवटा र अत्रपूर्ण गाउँपालिकामा पर्ने पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ एक-एक वटा नयाँ पुल निर्माण गरिएको हो। दुवै पुलको लम्बाइ ५२-५२ मिटर रहेको छ। त्यस्तै, पानीविहाडमा निर्माण गरिएको पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए।

तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो। विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण सम्पत्र गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभित्र जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ। कास्की खण्डमा तीनवटा पुल निर्माण सम्पत्र भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका साथै कास्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा हुने यातायात थप सहज भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij