२०८३ कार्तिक २६ बुधबार

तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

ई आर्थिक    मंगलबार, कार्तिक २५ २०८३
380
Shares
तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

भोजपुर । धानबाली भित्र्याउने समय र तिहार पर्व एकैसाथ परेपछि भोजपुरका किसानलाई यस वर्ष चाडपर्वभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा किसान जुटेपछि उनीहरूले तिहारको रमाइलोमा पर्याप्त समय दिन पाएका छैनन् ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान रुपनारायण फुँयालले धान भित्र्याउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूतिसमेत गर्न कठिन भएको बताए । चाडपर्वमा परिवारसँग बसेर रमाइलो गर्ने इच्छा भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

फुँयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन । किसानले एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम गरिरहेका छन् । यही गतिमा काम अघि बढे मङ्सिर १० देखि १५ गतेसम्म पनि धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उनले बताए ।

धान भित्र्याउने समयमा आवश्यक जनशक्ति नपाउँदा काम थप प्रभावित भएको किसान करुणा थापाले बताइन् । गाउँमा खेतीपातीका लागि कामदारको अभाव हुँदा धान भण्डारणको काममा ढिलाइ भइरहेको उनको भनाइ छ । केही किसानले आफ्नो धान भित्र्याइसकेपछि मात्रै अरूले काम गर्ने अवसर पाउने भएकाले पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसानको अनुभव छ । अर्मपर्म प्रणालीबाट एकअर्कालाई सहयोग गरे पनि सबै किसानको धान एकै समयमा भित्र्याउन सम्भव नहुँदा कामको चाप बढेको छ ।

किसान अनुराग पोखरेलले पनि धान पाकेर भित्र्याउने समय र तिहारको चाडपर्व एकै समयमा परेकाले ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको बताए । एकातिर पाकेको धान वर्षा तथा अन्य जोखिमबाट जोगाउँदै सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने र अर्कातिर चाडपर्व मनाउने चाहना हुँदा किसानलाई समय व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ ।

खेतीपातीको काम नसकिँदा परिवार र आफन्तसँग बसेर चाडपर्व मनाउने समयसमेत पर्याप्त नपाएको पोखरेलले बताए ।

यसरी भोजपुरका ग्रामीण क्षेत्रमा तिहारको उल्लाससँगै धान भित्र्याउने चटारो पनि बढेको छ । चाडपर्वको समयमा समेत किसान खेतबारीमै व्यस्त रहँदा यस वर्ष उनीहरूको प्राथमिकतामा तिहारको रमझमभन्दा पाकेको बाली सुरक्षित रूपमा भण्डारण गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij