२०८३ कार्तिक २४ सोमबार

बाढीले क्षतिग्रस्त बेनी बजार संरक्षणको पर्खाल पुनर्निर्माण गरिँदै, पाँच करोड खर्च लाग्ने अनुमान

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०८३
589
Shares
बाढीले क्षतिग्रस्त बेनी बजार संरक्षणको पर्खाल पुनर्निर्माण गरिँदै, पाँच करोड खर्च लाग्ने अनुमान

म्याग्दी । कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माण गरिने भएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले आगामी वर्षायामअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित पुनर्निर्माण प्रक्रिया अघि बढाउन लागेको हो। त्यसका लागि एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।

कालीगण्डकी नदीको कटानबाट बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं. ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडि रहेको करिब १५ मिटर लामो पर्खाल क्षतिग्रस्त भएका छन्। नदीको कटानले पर्खालसँगै बजार क्षेत्रको चक्रपथमा समेत क्षति पुर्‍याएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ। एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना रहेको उनले बताए।

उनका अनुसार पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना छ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको सुरक्षाका लागि क्षतिग्रस्त पर्खालको पुनर्निर्माण तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले आयोजनालाई छिटो लागत अनुमान तयार गर्न, आवश्यक बजेटको व्यवस्था मिलाउन र निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।

आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइसकिएको जानकारी दिए। पछिल्लो समय क्षतिको थप विवरण प्राप्त भएकाले त्यसलाई समेटेर अद्यावधिक विवरण तयार पार्ने र आवश्यक बजेट माग गर्दै विभागमा पठाउने तयारी भइरहेको उनले बताए।

उनले कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेका बेनी बजारसहित आसपासका बस्तीको संरक्षणलाई प्राथमिकतामा राखेर आगामी बर्खाअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइने बताए।

यसअघि पनि उक्त क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो। त्यस्तै, सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो। तर, कालीगण्डकी नदीमा आएको बाढी र तीव्र कटानका कारण दुवै संरचनामा क्षति पुगेपछि बजार संरक्षणका लागि पुनर्निर्माण गर्न लागिएको हो।

आगामी वर्षायामअघि नै पुनर्निर्माणको काम सम्पन्न गर्न सके बेनी बजार र आसपासका बस्तीलाई नदी कटानको जोखिमबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij