२०८३ कार्तिक २४ सोमबार

घोप्टेभिरको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म सडक खुल्ने

ई आर्थिक    सोमबार, कार्तिक २४ २०८३
209
Shares
घोप्टेभिरको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म सडक खुल्ने

चितवन।  पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ। पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ।

नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ। काठमाडौंतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ। सडक केही सफा भएपछि काठमाडौंतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताए।

अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउने बताए। सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ।

राति १ बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। पुनः बिहान ५ बजे पहिरो खसेपछि काठमाडौंतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो। मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिए।

पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ। सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij