काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १२ गतेदेखि विशेषगरी १३ र १४ गते देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्राधिकरणले सोमबार सार्वजनिक हितका लागि प्रेस विज्ञप्ति जारी गर्दै समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातका कारण मौसमी प्रणाली नेपाल प्रवेश गर्ने र त्यसको प्रभावले विभिन्न स्थानमा वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ, हुरीबतास तथा डुबानको जोखिम रहन सक्ने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्राधिकरणले सम्भावित विपद्बाट सुरक्षित रहन सर्वसाधारणलाई अपिल गरेको हो।
प्रतिकूल मौसमका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले आवश्यक तयारी गरेको जनाएको छ। विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा पुनः सञ्चालन गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षित स्थानमा बस्न, अत्यावश्यक कामबाहेक आवतजावत नगर्न र विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मानी आवश्यक कामकारबाही गर्न पनि आग्रह गरिएको छ।
विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युतीय संरचनामा क्षति पुगेमा उपभोक्तालाई सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ। यसका लागि प्राधिकरणको हटलाइन नम्बर ११५० वा सम्बन्धित क्षेत्रको नो-लाइट नम्बरमा सम्पर्क गर्न सकिनेछ।
नो-लाइट नम्बरसम्बन्धी विवरण प्राधिकरणको आधिकारिक वेबसाइट https://nea.org.np/nolights बाट प्राप्त गर्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सम्भावित प्रतिकूल मौसमका बेला विद्युत् सुरक्षामा विशेष ध्यान दिन र जोखिमपूर्ण विद्युतीय संरचनाबाट टाढा रहनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।
