२०८३ कार्तिक १२ बुधबार

वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्दैन, जोखिमयुक्त क्षेत्रमा सतर्क रहन मौसमविद्को आग्रह

ई आर्थिक    मंगलबार, कार्तिक ११ २०८३
342
Shares
वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्दैन, जोखिमयुक्त क्षेत्रमा सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ। सम्भावित मौसमी प्रभावलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाका अनुसार बिहीबार बेलुकादेखि शनिबारसम्म उक्त प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ। यद्यपि, मौसमी प्रणाली अझै बंगालको खाडीमै रहेकाले यसको गति, तीव्रता र नेपाल नजिक आइपुग्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्नेछ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने भएकाले हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। सम्भव भएसम्म जोखिमयुक्त हिमाली क्षेत्रमा यात्रा नगर्न पनि आग्रह गरिएको छ।

त्यस्तै, पहिरोको जोखिम रहेका स्थान तथा सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सम्भावित वर्षाले सडक यातायात तथा जनजीवनमा असर पार्न सक्ने भएकाले मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नुपर्नेमा जोड दिइएको छ।

धानबालीमा असर पर्न सक्ने

धान काट्ने समय भएकाले सम्भावित वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ। महाशाखाले किसानहरूलाई मौसमसम्बन्धी आधिकारिक सूचना तथा पूर्वानुमानका आधारमा धान काट्ने र भित्र्याउने समय तय गर्न आग्रह गरेको छ।

पोस्ट-मनसुनमा वर्षा हुनु सामान्य

मनसुन समाप्त भएपछि सुरु हुने पोस्ट-मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य मौसमी प्रक्रिया हो। अक्टोबर र नोभेम्बरमा सामान्यतः नेपालमा मौसम सफा रहने भए पनि यही अवधिमा बंगालको खाडी र अरब सागरमा चक्रवात तथा न्यून चापीय प्रणाली विकसित हुन सक्ने सम्भावना रहन्छ।

समुद्रमा विकसित हुने सबै चक्रवात वा न्यून चापीय प्रणाली नेपालसम्म नआइपुग्ने भए पनि उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुग्ने प्रणालीले वर्षा तथा हिमपात गराउन सक्छन्। यस्ता प्रणालीको प्रभाव तिनको गति, दिशा, तीव्रता र वायुमण्डलीय अवस्थाअनुसार फरक पर्न सक्छ।

जलवायु परिवर्तनले मौसमी घटनाको आवृत्ति र तीव्रतामा प्रभाव पार्न सक्ने भएकाले यस्ता प्रणालीको प्रकृति तथा प्रभाव बुझ्न नियमित अध्ययन र अनुसन्धान आवश्यक रहेको छ।

आधिकारिक सूचना हेर्न आग्रह

मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई मौसमसम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचना, पूर्वानुमान तथा सामाजिक सञ्जालमार्फत जारी हुने अद्यावधिक विवरण हेर्न आग्रह गरेको छ।

महाशाखाले हल्लाका आधारमा अनावश्यक त्रासमा नबस्न, तर सम्भावित जोखिमलाई बेवास्ता नगर्न र आधिकारिक मौसम पूर्वानुमानका आधारमा यात्रा, कृषि तथा अन्य गतिविधिको योजना बनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij