म्याग्दी । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ।
नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रसारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए।
‘धेरै ठाउँमा दुई/तीन दिनमै विद्युत आपूर्ति गराएका थियौ। पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैँको समयमा रातीसम्म परिचालन भयौँ,’ उनले भने, ‘कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ। दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र ब्यवस्थित बनाउने प्रयासमा छौँ।’
म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार ४९० ग्राहक छन्। तातोपानी वितरण केन्द्रअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडासहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ।
बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रसारण, वितरण लाइनका २५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो। कुल १ करोड ५० लाख रूपैयाँबराबरको क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका-५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ। यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो। पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए।
विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ। रासस