२०८३ कार्तिक ८ शनिबार

हिल्साको नेपाल–चीन मैत्रीपुल यस वर्ष पनि सञ्चालनमा नआउने

ई आर्थिक    शनिबार, कार्तिक ८ २०८३
171
Shares
हिल्साको नेपाल–चीन मैत्रीपुल यस वर्ष पनि सञ्चालनमा नआउने

हुम्ला । नेपाल–चीन सीमा हिल्सामा निर्माण सम्पन्न भएको मैत्रीपुल यस वर्ष पनि सञ्चालनमा नआउने भएको छ। पुल उद्घाटनका लागि चिनियाँ पक्ष तयार भए पनि नेपाली पक्षले समय व्यवस्थापन गर्न नसक्दा उद्घाटन प्रक्रिया अघि बढ्न नसकेको हो।

भोटेकोशी बाढीलगायतका कारण देखाउँदै नेपालले पुल उद्घाटनका लागि आवश्यक समय मिलाउन नसकेपछि निर्माण सम्पन्न भइसकेको पुल सञ्चालनमा आउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिनुभयो।

उहाँका अनुसार चिनियाँ पक्षले पुल सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउन नेपाललाई आग्रह गरेको थियो। तर, नेपाली पक्षबाट समय व्यवस्थापन हुन नसक्दा यस वर्ष पनि पुल उद्घाटन सम्भव नभएको हो। उद्घाटन नभएसम्म चीनले आफ्नोतर्फ पुलमा बार लगाएर आवतजावत बन्द गरेको छ।

हिमपातको समय सुरु भइसकेकाले तत्काल उद्घाटन गर्न सक्ने अवस्था नरहेको जैसीले बताउनुभयो। उहाँका अनुसार अब पुल सञ्चालनमा आउन कम्तीमा आठदेखि नौ महिना लाग्न सक्ने सम्भावना छ।

पुल उद्घाटनका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायबाट मौखिक आग्रह आएपछि आफूले जिल्ला प्रशासन कार्यालय हुम्लालाई लिखित जानकारी गराएको उहाँले बताउनुभयो।

२९ प्रकारका जडिबुटी निर्यातको बाटो खुल्ने

हिल्सा नाकाबाट यसअघि नेपालले चीनतर्फ आयात मात्रै गर्न पाउने व्यवस्था थियो। पछिल्लो समय चीनले नेपालबाट २९ प्रकारका जडिबुटी निर्यात गर्न अनुमति दिइसकेको छ। मैत्रीपुल सञ्चालनमा आएपछि मालवाहक कन्टेनरहरू पुल हुँदै सिधै नेपाली सीमासम्म आउन सक्नेछन्।

हाल पुल सञ्चालनमा नआएकै कारण हिल्सामा नेपालले निर्माण गरेको बेलिब्रिजबाट यातायातका साधन आवतजावत गरिरहेका छन्। स्थानीय बासिन्दा तथा पर्यटकहरू भने झोलुङ्गे पुलमार्फत नेपाल–चीन सीमा वारपार गरिरहेका छन्।

गत मङ्सिरमै निर्माण सम्पन्नहिल्साको मैत्रीपुलको निर्माण कार्य गत वर्ष मङ्सिरमै सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेपछि चीनले पुल प्रयोगमा ल्याउने वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्राचार गरेको थियो।

नेपाल र चीनका स्थानीय प्रतिनिधिबीच गत वैशाख १० गते पुल सञ्चालन तथा उद्घाटनका विषयमा छलफल भए पनि ठोस निर्णय हुन सकेन।

चीनले करिब छ महिनामा मैत्रीपुल निर्माण सम्पन्न गरेको हो। पुलसँगै चीनले नेपाली भूभागतर्फ करिब ३५० मिटर सडकसमेत निर्माण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij