रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षासम्बन्धी पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।
मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री लम्सालले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताएका हुन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा मर्चवार क्षेत्रमा दुई खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको छ । पहिलो खण्डअन्तर्गत पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त सडक निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
त्यसैगरी, पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको मन्त्री लम्सालले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको उनको भनाइ छ ।
सडक विस्तारले स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । यसका अतिरिक्त मुख्य तथा ग्रामीण सडकको निर्माण र स्तरोन्नतिका लागि समेत बजेट व्यवस्थापन गरिने उनले बताए ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले सर्पदंश उपचार सेवासहितको अस्पताल स्थापना गर्न माग गरेका थिए । स्थानीयको माग सम्बोधन गर्दै मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा अस्पताल स्थापनाका लागि आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयस्तरमै अस्पताल स्थापना आवश्यक रहेको उल्लेख गर्दै उनले स्वास्थ्य चौकीको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिने बताए ।
यसैगरी, क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गरिने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लगिने मन्त्री लम्सालले जानकारी दिए ।
मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताए । अनुगमनका क्रममा स्थानीयवासीले उठाएका माग र समस्याको अध्ययन गरी सडक, स्वास्थ्य तथा शिक्षासम्बन्धी योजना कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ ।