२०८३ कार्तिक ६ बिहिबार

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक तीन महिनापछि सञ्चालनमा

ई आर्थिक    मंगलबार, कार्तिक ४ २०८३
304
Shares
अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक तीन महिनापछि सञ्चालनमा

संखुवासभा। नेपाली सेनाको सहयोगमा पहिरोका ठूला चट्टान हटाइएपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड पुनः सञ्चालनमा आएको छ। भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा पहिरो खसेपछि करिब तीन महिनादेखि अवरुद्ध सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो।

गत साउनमा छुम्सुर क्षेत्रमा ठूला चट्टानसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारीसाधन आवतजावत ठप्प हुँदा स्थानीयको दैनिक जनजीवन, यात्रु आवागमन तथा सामान ढुवानीमा समस्या उत्पन्न भएको थियो।

पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो। सोहीअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) प्रविधिबाट विशाल चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो। त्यसपछि आयोजनाले चट्टान हटाएर सडक सञ्चालनमा ल्याएको हो।

उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार चट्टानको आकार र भौगोलिक विकटताका कारण सामान्य उपकरणबाट पहिरो हटाउन सम्भव नभएपछि विस्फोटक पदार्थ प्रयोग गर्नुपरेको थियो।

उनले छुम्सुर क्षेत्रमा पहिरो हटाउने काम अत्यन्त चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सडक सञ्चालनमा ल्याउन नेपाली सेनाले महत्त्वपूर्ण सहयोग गरेको बताए।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको छुम्सुर क्षेत्रको पहिरो हटाइएसँगै उत्तरी सीमावर्ती क्षेत्रसम्मको यातायात सम्पर्क पुनः स्थापित भएको छ। नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडकका रूपमा रहेको यो खण्ड सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा व्यापारीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

खाँदबारी–किमाथाङ्का सडकको कुल लम्बाइ १६२ किलोमिटर रहेको छ। भौगोलिक विकटता र कडा चट्टानका कारण निर्माण चुनौतीपूर्ण बनेपछि सरकारले १०.८ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी सडक निर्माण सम्पन्न गरेपछि गत वैशाखमा आयोजना कार्यालयलाई हस्तान्तरण गरेको थियो।

कोशी प्रदेशलाई चीनसँगको उत्तरी सीमासम्म जोड्ने रणनीतिक महत्त्वको यस सडकखण्डमा वर्षायाममा पहिरो तथा चट्टान खस्ने जोखिम रहँदै आएको छ। सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रका बासिन्दाको आवागमन र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पर्ने गरेको छ।

किमाथाङ्का नाका सञ्चालन र सडक सञ्जालको विस्तारले कोशी प्रदेशका संखुवासभासहित धनकुटा, तेह्रथुम, भोजपुर, सुनसरी, मोरङ र झापाका बासिन्दालाई समेत व्यापार तथा आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij