काठमाडौं । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा तीर्थयात्री बोकेको क्षेत्रमा धान लोड गरिएको ट्रकले ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
ग्वालियरको शीतला माता मन्दिर नजिकै आइतबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रक ठाडो ओरालोमा पुगेपछि अनियन्त्रित भएको थियो । नियन्त्रण गुमाएको ट्रकले सडकमा राखिएका प्रहरी अवरोध तोड्दै तीर्थयात्रीलाई ठक्कर दिएको थियो ।
तीर्थयात्रीलाई ठक्कर दिएपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो । उक्त सडकमा भारी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको भए पनि ट्रक कसरी त्यहाँ प्रवेश गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्याइएको थियो । तीमध्ये १२ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी अधिकारी सिंहले जानकारी दिएका छन् । दुर्घटनामा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन् ।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानका अनुसार दुर्घटनालगत्तै उद्धारका लागि एम्बुलेन्स तथा अन्य सवारीसाधन घटनास्थलमा पठाइएको थियो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ट्रकको प्राविधिक परीक्षण गरिने
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने भएको छ । साथै, नवरात्रका अवसरमा सुरक्षा व्यवस्थाका लागि राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गर्दै ट्रक प्रतिबन्धित सडकमा कसरी प्रवेश गर्यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
एक प्रत्यक्षदर्शीले ट्रकमा क्षमताभन्दा बढी भार रहेको दाबी गरेका छन् । उनका अनुसार अनियन्त्रित ट्रकले सडकछेउका पसल तथा मानिसलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा प्रत्यक्षदर्शीका भाइसमेत घाइते भएका छन् ।
नवरात्रका अवसरमा शीतला माता मन्दिरमा तीर्थयात्री तथा भक्तजनको चहलपहल बढेका बेला भएको दुर्घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।