२०८३ असोज २९ बिहिबार

आफूमाथिका आरोपको निर्मम छानबिन गर्न रास्वपा सांसद खगेन्द्र सुनुवारको माग

ई आर्थिक    बिहिबार, असोज २९ २०८३
285
Shares
आफूमाथिका आरोपको निर्मम छानबिन गर्न रास्वपा सांसद खगेन्द्र सुनुवारको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनुवारले आफूमाथि लागेका आरोपको निष्पक्ष तथा निर्मम छानबिन गर्न माग गरेका छन्। उनले आफू दोषी प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत सकिने बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सुनुवारले आफूमाथि उठेका प्रश्नको सत्यतथ्य छानबिन हुनुपर्ने बताएका हुन्। आफूले कुनै गलत काम गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै उनले आफूलाई जोगाउन पार्टी वा सरकारले कुनै सम्झौता गर्न नपर्ने बताएका छन्।

‘म माथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले कुनै पनि कुकर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन।’

सुनुवारले आफूमाथिका आरोपको छानबिनमा पार्टी, सरकार तथा राज्यका सबै निकायलाई सहयोग गर्न तयार रहेको बताएका छन्। आरोप प्रमाणित भए आफूले कानुनी सजाय स्वीकार गर्ने उनको भनाइ छ।

तर, राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय एक महिलामाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट भइरहेको भनिएको प्रचारप्रसारप्रति उनले आपत्ति जनाएका छन्। ती महिलाको तस्बिर, अडियो तथा भिडियो जोडेर अतिरञ्जित टिप्पणी गर्नु र मिडिया ट्रायल गर्नु गलत भएको उनको जिकिर छ।

‘जे कारबाही हो, ममाथि होस्– मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ सुनुवारले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।

उनले सम्बन्धित महिलालाई विगतमा आफूबाट दुःख दिइएको भन्ने आरोप वा बुझाइका आधारमा यसरी सार्वजनिक रूपमा लखेट्नु कति सान्दर्भिक हो भन्ने प्रश्नसमेत उठाएका छन्। आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित निकायले गोप्य तथा निष्पक्ष रूपमा अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न सक्ने उनको भनाइ छ।

सुनुवारका अनुसार, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटकपटक भेट्न बोलाएको तथा मुद्दा हाल्न भनेको विषयमा ती महिलाले आफू अन्यायमा परेको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको जवाफ दिएकी थिइन्। त्यसपछि ‘तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं’ भन्ने धम्कीपूर्ण अभिव्यक्ति आएको र त्यसको केही दिनपछि अहिलेको घटनाक्रम सुरु भएको उनले आफ्नो भनाइमा उल्लेख गरेका छन्।

उनले आफूले कुनै विषयमा प्रश्न उठाएकै कारण आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको स्पष्ट पारेका छन्। समाचार सार्वजनिक भइसकेको अवस्थामा जिम्मेवार नागरिकका रूपमा आफूमाथिका प्रत्येक आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ।

साथै, आरोपको छानबिन गर्ने क्रममा सम्बन्धित महिलामाथि प्रहरी, राज्य, समाज तथा सञ्चारमाध्यमबाट दुर्व्यवहार हुन नहुनेमा उनले जोड दिएका छन्।

सुनुवारले आफूमाथिका आरोपको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गर्दै सम्बन्धित महिलामाथि भइरहेको भनिएको सार्वजनिक आक्रमण तत्काल रोकिनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij