२०८३ असोज २९ बिहिबार

नेता डा. शर्माद्वारा पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्ध सुदृढ बनाउन जिल्ला दौडाहा सुरु

ई आर्थिक    बिहिबार, असोज २९ २०८३
228
Shares
नेता डा. शर्माद्वारा पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्ध सुदृढ बनाउन जिल्ला दौडाहा सुरु

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा ५३ मतको झिनो अन्तरले पराजित भएका डा. सुनील शर्माले पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्ध सुदृढ बनाउन जिल्ला दौडाहा सुरु गरेका छन्।

महाधिवेशनमा उल्लेख्य मत प्राप्त गरेका शर्मा निर्वाचनपछि तल्लो तहका कार्यकर्तामाझ पुगेर उनीहरूका कुरा सुन्न र संगठनका विषयमा छलफल गर्न सक्रिय भएका हुन्।

आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि तथा समर्थकहरूलाई धन्यवाद दिने उद्देश्यसहित शर्माले मकवानपुरको हेटौँडाबाट जिल्ला दौडाहा सुरु गरेका छन्। राजधानी केन्द्रित राजनीतिक गतिविधिभन्दा बाहिर निस्केर जिल्लाका नेता, कार्यकर्ता र स्थानीय अगुवाहरूसँग प्रत्यक्ष भेटघाट तथा संवादलाई उनले प्राथमिकता दिएका छन्।

हेटौँडामा शर्माले जिल्लाका अग्रज नेता, सयौँ कार्यकर्ता तथा स्थानीय अगुवाहरूसँग भेटघाट गर्दै नेपाली कांग्रेसको वर्तमान अवस्था, संगठनको सुदृढीकरण र आगामी राजनीतिक यात्राबारे छलफल गरेका छन्। पार्टीभित्र देखिने गुटबन्दी कम गर्दै नेता तथा कार्यकर्ताबीचको दूरी घटाउनुपर्ने विषयमा समेत उनले जोड दिएको बताइएको छ।

महामन्त्री पदको निर्वाचनमा पराजित भए पनि शर्मा पार्टी संगठनमा सक्रिय देखिएका छन्। कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका सुझाव सुन्ने र पार्टीको नेतृत्व तथा तल्लो तहबीच समन्वय बढाउने उनको प्रयासले कांग्रेसभित्र नयाँ राजनीतिक चर्चा सुरु गराएको छ।

शर्माको जिल्ला दौडाहालाई कतिपयले आगामी १६औँ महाधिवेशनको राजनीतिक तयारीका रूपमा समेत हेर्न थालेका छन्। यद्यपि, उनले आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा औपचारिक घोषणा गरेका छैनन्। तत्कालका लागि उनको अभियान पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्ध विस्तार र संगठनात्मक छलफलमा केन्द्रित देखिएको छ।

डा. शर्मा २०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। पार्टीको १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा काम गरेका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी हाल गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापतिसमेत हुन्।

राजनीतिसँगै स्वास्थ्य सेवामा सक्रिय शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत विपन्न तथा असहाय बिरामीको उपचार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई चिकित्सा शिक्षामा अवसर उपलब्ध गराउने कार्यमा संलग्न रहँदै आएका छन्।

महाधिवेशनको निर्वाचन परिणामपछि कार्यकर्तामाझ पुगेर संगठनात्मक सम्बन्ध विस्तारमा जुटेका शर्माको जिल्ला दौडाहाले नेपाली कांग्रेसभित्र उनको आगामी राजनीतिक भूमिकाबारे चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij