२०८३ असोज २० मंगलबार

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, पुस १ देखि लागू हुने

ई आर्थिक    सोमबार, असोज १९ २०८३
418
Shares
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, पुस १ देखि लागू हुने

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलका अनुसार पुस १ गतेदेखि १६ वर्ष पूरा गरेका नागरिकले स्वास्थ्य बिमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा बिमा सेवा लिँदा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।

सामान्य तथा लक्षित वर्गअन्तर्गतका सबै बिमित परिवारले आफ्नो विवरण ‘एचआइबी ई–पोर्टल’ मार्फत अद्यावधिक गर्नुपर्ने बोर्डले जनाएको छ।

डा. प्याकुरेलका अनुसार राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बिमा प्रणालीसँग जोड्दा बिमितको पहिचान सुनिश्चित हुनुका साथै एउटै व्यक्तिको दोहोरो आबद्धता नियन्त्रण गर्न सहयोग पुग्नेछ। यसबाट बिमितको विवरण अद्यावधिक गर्न तथा दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउन समेत मद्दत पुग्ने बोर्डको अपेक्षा छ।

रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन बोर्डले रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।

कार्यदलले सेवाप्रदायक स्वास्थ्य संस्थाको छनोट, सम्झौताको आधार, सेवाको वर्गीकरण तथा भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र बोर्डसमक्ष पेस गर्नेछ।

डिजिटल स्वास्थ्य अभिलेखलाई मान्यता दिइने

बोर्डले स्वास्थ्य संस्थाले विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीमार्फत उपलब्ध गराउने डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डका आधारमा मान्यता दिने निर्णय पनि गरेको छ।

अध्यक्ष डा. प्याकुरेलका अनुसार यस्ता डिजिटल विवरणलाई आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेसिन लर्निङमा आधारित दाबी समीक्षा प्रणाली विकास तथा सञ्चालनमा उपयोग गरिनेछ।

नयाँ व्यवस्थाले स्वास्थ्य बिमा प्रणालीमा बिमितको पहिचान, विवरण व्यवस्थापन, सेवा खरिद तथा दाबी भुक्तानी प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij