काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारीको संख्या १७ बाट बढाएर २१ पुर्याउने प्रस्ताव गरिएको छ। प्रस्तावित विधान संशोधनअनुसार पार्टीमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्।
हाल दुई जना रहेको उपसभापतिको संख्या बढाएर चार पुर्याउने प्रस्ताव छ। चार उपसभापतिमध्ये एक जनालाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने व्यवस्था प्रस्ताव गरिएको छ। चारै जना उपसभापति निर्वाचनबाट चयन हुने र कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ।
त्यस्तै, सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्याउने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने दुई जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्नेछन्।
महामन्त्रीको संख्या भने दुईमै कायम राख्ने प्रस्ताव गरिएको छ। महामन्त्रीको संख्या तीन पुर्याउने प्रस्तावमा भने सहमति जुट्न सकेको छैन। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने हालकै व्यवस्थालाई निरन्तरता दिने प्रस्ताव छ।
प्रस्तावित संशोधनअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय नै रहनेछ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ।
संशोधित विधानमा ३५ वर्षमुनिका युवालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था पनि समेटिने भएको छ। महिला तथा समावेशी सहभागिता बढाउने उद्देश्यसहित पदाधिकारीमा थप पद सिर्जना गर्ने प्रस्ताव गरिएको हो। पार्टीभित्र नेतृत्वका आकांक्षीको संख्या बढेकाले उनीहरूको व्यवस्थापनका लागि पनि पदाधिकारी संख्या बढाउने तयारी गरिएको बताइएको छ।
विधान संशोधनसम्बन्धी प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेस हुनेछ। प्रतिनिधिहरूले प्रस्ताव पारित गरेपछि मात्रै नयाँ संरचनाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्नेछ।