२०८३ असोज १९ सोमबार

कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

ई आर्थिक    आइतबार, असोज १८ २०८३
722
Shares
कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाको कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ।

भैरहवामा रहेको NARC को कार्यालयमा आयोजित बैठकमा कृषि उत्पादनको व्यावसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधारबारे छलफल गरिएको थियो।

बैठकमा उद्योगी–व्यवसायीहरूले उद्योग सञ्चालनका क्रममा भोग्दै आएका व्यावहारिक समस्या, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, बजार व्यवस्थापन, सरकारी सहजीकरण तथा कृषि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

उद्योगी–व्यवसायीका सुझाव सुनेपछि मन्त्री गिता चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

मन्त्री चौधरीले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको बजार विस्तार गर्न कृषि उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकको समापन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिइने बताउनुभयो।

उहाँले कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij