काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ।
बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो।
बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्ड मार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ। यस सेवाले विदेशमा हुने डिजिटल कारोबारलाई थप सहज र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्। बैंकका अनुसार यस सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्नुका साथै व्यवसाय सञ्चालनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ।
यस्तै, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाबाट फोनपे नेटवर्कमा आबद्ध अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।
गरिमा विकास बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार गर्दै ग्राहकलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
आईएसओ ९००१: २०१५ र आईएसओ २७००१: २०२२ प्रमाणित गरिमा विकास बैंकले देशभर रहेका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत करिब ९ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।