काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासमा पुर्याएको सहयोगको उच्च मूल्यांकन गर्नुभयो। उहाँले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो।
मन्त्री यादवले सन् २०१५ मा सुरु भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै नेपाली वस्तुको अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारको सहयोग अपेक्षा गर्नुभयो।
उहाँले नेपाल र अमेरिकाबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा पनि जोड दिनुभयो।
नेपाल सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाउँदै लगेको उल्लेख गर्दै मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रलगायत सम्भावनायुक्त क्षेत्रमा थप अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो।
हाल संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै उहाँले ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायत नेपाली वस्तुको निर्यात भइरहेको जानकारी दिनुभयो। द्विपक्षीय व्यापारमा रहेको घाटा न्यूनीकरणका लागि प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
मन्त्री यादवले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रवर्द्धन तथा व्यापारिक संवादलाई सक्रिय बनाउने विषयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिनुभएको मन्त्रालयले जनाएको छ।
उहाँले नेपालले उठाएका विषयमा अमेरिकी सरकारको तर्फबाट आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।