सर्लाही: सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दै गोली प्रहार गरिएको छ। बुधबार राति भएको उक्त घटनामा व्यवसायी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा राति करिब ८ बजेपछि अज्ञात व्यक्तिहरूले मोबाइल व्यवसायी हरिप्रसाद सापकोटामाथि लुटपाट गर्ने प्रयास गरेका थिए।
लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुर निवासी सापकोटा पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले उनीहरूलाई रोकेर लुटपाटको प्रयास गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार लुटपाटका क्रममा सामान्य धकेलाधकेल भएपछि हतियारधारी व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। घटनामा कसैलाई गोली नलागेको र सापकोटा तथा उनीसँग रहेका साथी दुवै सुरक्षित रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरेको छ। घटनालगत्तै मलङ्गवाबाट डीएसपी गौतमको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो।
घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि प्रहरीले बिहीबार बिहान २ बजेसम्म सर्च अपरेसन सञ्चालन गरे पनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मोबाइल व्यवसायीमाथि गोली प्रहारसहित लुटपाटको प्रयास भएपछि लालबन्दी क्षेत्रका व्यवसायी र स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ।