काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले अब पोखरा र चितवनस्थित अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित लजहरूमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। यसका लागि बैंक र सम्बन्धित होटल व्यवस्थापनबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गर्ने ग्राहकहरूले पोखराको फिस्टेल लज तथा चितवनको जगतपुर लजमा उपलब्ध सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले होटलका खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् भने आवासीय सेवामा कर्पोरेट दरअनुसार विशेष शुल्क सुविधा उपलब्ध हुनेछ।
यो सुविधा प्राप्त गर्न ग्राहकहरूले सम्बन्धित लजमा भुक्तानी गर्दा एनआईसी एसिया बैंकका डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई थप मूल्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै नगदरहित कारोबारको विस्तारमा समेत योगदान पुग्ने बैंकको अपेक्षा रहेको छ।
एनआईसी एसियाले पछिल्लो समय विभिन्न होटल, रेस्टुरेन्ट तथा सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट तथा सुविधाहरू उपलब्ध गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ।