२०८३ भाद्र २७ शनिबार

रवि लामिछाने र भाजपा नेतृत्वबीच उच्चस्तरीय राजनीतिक संवाद हुँदै

ई आर्थिक    मंगलबार, जेष्ठ १९ २०८३
1.6K
Shares
रवि लामिछाने र भाजपा नेतृत्वबीच उच्चस्तरीय राजनीतिक संवाद हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार भारतको नयाँदिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भएको भ्रमणलाई दुवै दलले पार्टी–टु–पार्टी औपचारिक संवादको सुरुवातका रूपमा लिएका छन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएका लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले स्वागत गर्नुभएको थियो।

भ्रमणका क्रममा सभापति लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले भाजपा शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै प्रतिनिधिमण्डलले अयोध्याको भ्रमणसमेत गर्ने तालिका रहेको जनाइएको छ।

रास्वपाका अनुसार भेटवार्तामा दुवै दलबीच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया, जनमुखी राजनीतिक पहुँच तथा आपसी सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान हुनेछ।

रास्वपा प्रवक्ता मनीष झाले जेठ १८ देखि २२ गतेसम्म सञ्चालन हुने भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट तय भएको जानकारी दिनुभएको छ।

यता, भाजपाले पनि उक्त भ्रमणलाई नेपाल र भारतका सत्तारूढ राजनीतिक शक्तिबीचको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेको छ। भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेद्वारा जारी विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलले भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नेछ।

भाजपाले भ्रमणको मुख्य उद्देश्य दुई दलबीचको सम्बन्ध विस्तार, लोकतान्त्रिक अभ्यासको आदानप्रदान तथा जनस्तरसम्म राजनीतिक पहुँच विस्तारका विषयमा छलफल गर्नु रहेको जनाएको छ।

सभापति लामिछानेसँगै भ्रमण टोलीमा रास्वपाका महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्। भ्रमणका क्रममा लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतका प्रमुख राजनीतिक दलबीच प्रत्यक्ष रूपमा सुरु हुन लागेको यो संवादले भविष्यमा दलगत सम्बन्ध, राजनीतिक समझदारी तथा क्षेत्रीय सहकार्यका नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। भ्रमणको व्यवस्थापन तथा समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij