फाइल तस्विर
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ तल्लोबजारस्थित एक कपडा व्यवसायीको गोदाममा छापा मारेर झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहना तथा ठूलो परिमाणमा नेपाली र भारतीय मुद्रा बरामद गरेको छ।
प्रहरीले सोमबार साँझ श्यामसुन्दर अग्रवालको स्वामित्व रहेको शिव इम्पेरियममा छापा मार्दा सुनचाँदीका गरगहना, २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ तथा ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ। भारतीय मुद्राको नेपाली मूल्य करिब १२ लाख ९८ हजार रुपैयाँ बराबर रहेको प्रहरीले उल्लेख गरेको छ।
६३ वर्षीय अग्रवाल भारतीय मूलका व्यापारी हुन्। उनी नेपालगन्ज उपमहानगरपालिका–१० का स्थायी बासिन्दा रहेको र आफ्ना बुवाले सुरु गरेको व्यवसायलाई विस्तार गर्दै थोक कपडा व्यापार सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शिव इम्पेरियममा सुनचाँदीका गरगहना तथा भारतीय रुपैयाँ धितो राखी उच्च ब्याजदरमा नगद ऋण दिने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
प्रहरीले गोदामबाट सुन तथा चाँदीका गरगहना राखिएका १ सय ८५ थान बट्टा, पोका र डिब्बासहित पैसा गन्न प्रयोग हुने मेसिनसमेत बरामद गरेको छ।
प्रहरीले अग्रवाललाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।