काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रुपन्देहीस्थित पशुपति माध्यमिक विद्यालयलाई तीन थान कुलर हस्तान्तरण गरेको छ।
बैंकको शाखा कार्यालय कोटिहवामार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई कुलर हस्तान्तरण गरेका हुन्।
विद्यालयमा आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थी अध्ययनरत रहेको र अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित भइरहेको अवस्थामा कुलर सहयोगले विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
प्रधानाध्यापक भट्टराईले कक्षाकोठामा कुलर जडान भएपछि तापक्रम न्यूनीकरण भई विद्यार्थीलाई अध्ययन–अध्यापनमा सहजता हुने बताए। उनले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्न टेवा पुग्ने उल्लेख गरे।
बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा र सहजता प्रदान गर्ने बताए।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।