२०८३ साउन ९ शनिबार

प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

ई आर्थिक    मंगलबार, जेष्ठ १२ २०८३
1.3K
Shares
प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ : प्रतिनिधिसभाको आज बसेको बैठकले निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण विधेयक सर्वसम्मतिले पारित गरेको छ।

बैठकमा प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

पारित हुने विधेयकमध्ये ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न यी विधेयक संसद्मा दर्ता गरिएको सरकारले जनाएको छ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफलमा सांसद प्रेमबहादुर बयकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अपाङ्गता भएका व्यक्तिको सहभागिता थप सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।

जवाफमा मन्त्री गौतमले हालको कानुन जनसङ्ख्याको प्रतिशतका आधारमा समावेशितालाई ध्यानमा राखेर ल्याइएको बताउँदै आगामी निर्वाचनका सन्दर्भमा आवश्यक सुझावलाई विचार गरिने बताइन्।

यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि भने कुनै पनि सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिएनन्।

प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij