काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यद्यपि, गत सोमबारको तुलनामा भने सुनको मूल्य अझै २ हजार रुपैयाँले कम रहेको देखिएको छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४० रुपैयाँले वृद्धि हुँदै ५ हजार १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो भने गत सोमबार यसको मूल्य ५ हजार ४० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन् ।