२०८३ साउन १० आइतबार

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाबारे उच्चस्तरीय अन्तर्क्रिया

ई आर्थिक    बिहिबार, जेष्ठ ७ २०८३
1.6K
Shares
सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाबारे उच्चस्तरीय अन्तर्क्रिया

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको युवा संगठन सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण विषयक उच्चस्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती, औद्योगिक विकासका अवरोध तथा आर्थिक सम्भावनाबारे गहन छलफल गरिएको थियो। युवा उद्यमी, नीति विज्ञ तथा उद्योगी व्यवसायीलाई एकै थलोमा ल्याएर वर्तमान आर्थिक अवस्थाको विश्लेषण र भावी रणनीतिबारे विमर्श गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न मन्त्रालयको नेतृत्व सम्हालिसकेका पूर्वमन्त्री अनिलकुमार सिन्हा तथा पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल प्यानलिस्टका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण सीएनआई युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको यथार्थ विश्लेषणबिना भविष्यको स्पष्ट मार्ग तय गर्न नसकिने बताए। उनले अनुभवी नीति निर्माता र युवा उद्यमीबीच सहकार्य तथा संवादलाई सुदृढ बनाउन मञ्च प्रतिबद्ध रहेको उल्लेख गरे।

छलफलका क्रममा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी अवरोध तथा नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे गम्भीर बहस भएको थियो।

प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि तथा सेवा क्षेत्रका प्रतिनिधिहरूले तरलता अभाव, नीतिगत स्थिरता र लगानीमैत्री वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए।

कार्यक्रमको समापन मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले गरेका थिए। उनले कार्यक्रममा सहभागी विज्ञ तथा वक्ताहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij