काठमाडौं । देशका सात प्रमुख बैंकका कर्मचारी युनियनहरूले बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण तथा कर्मचारीहरूको मानसिक स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जेठ ४ गते विराटनगरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारी पीताम्बर खड्काको आत्महत्यापछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै युनियनहरूले सरकार, श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन्।
युनियनहरूले खड्काको घटनालाई केवल व्यक्तिगत दुर्घटना नभई समग्र बैंकिङ क्षेत्रमा देखिएको प्रणालीगत समस्याको संकेतका रूपमा व्याख्या गरेका छन्। पछिल्ला वर्षहरूमा बैंकहरूमा कार्य–जीवन सन्तुलन कमजोर बन्दै गएको, अत्यधिक मानसिक दबाबले कर्मचारीहरूको व्यक्तिगत, पारिवारिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा बैंक कर्मचारीहरूले आफ्नो जिम्मेवारी र कानुनी दायित्वअनुसार काम गर्दा समेत विभिन्न बाह्य दबाब समूहबाट दुर्व्यवहार, धम्की तथा अपमान सहनुपरेको उल्लेख गरिएको छ। कतिपय अवस्थामा सामान्य बैंकिङ प्रक्रियालाई समेत गैरकानुनी भन्दै कर्मचारीहरूलाई अनावश्यक कानुनी झमेलामा फसाउने प्रवृत्ति बढेकोप्रति युनियनहरूले आपत्ति जनाएका छन्।
यस्तै, संवेदनशील परिस्थितिमा सम्बन्धित निकायबाट प्रभावकारी संरक्षण र पहल नहुँदा कर्मचारीहरूमा असुरक्षा र निराशा बढ्दै गएको पनि विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधान र श्रम कानुनले सुरक्षित तथा मर्यादित कार्य वातावरणको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै युनियनहरूले बैंकिङ क्षेत्रमा श्रम मापदण्डको पूर्ण कार्यान्वयन, कार्यसमय तथा अतिरिक्त कार्यको स्पष्ट व्यवस्था र कर्मचारीहरूको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी परामर्श प्रणालीको माग गरेका छन्।
साथै, कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यवहारविरुद्ध कडा कानुनी संयन्त्र निर्माण गर्न सरकार र नियामक निकायसँग आग्रह गरिएको छ।
युनियनहरूले विशेष रूपमा पीताम्बर खड्काको आत्महत्याको घटनामा कुनै प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैरजिम्मेवार व्यवहार वा संस्थागत लापरवाही भए–नभएको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। छानबिनबाट दोषी प्रमाणित भए कानुनअनुसार कडा कारबाही गर्न समेत आग्रह गरिएको छ।
विज्ञप्तिमा उच्च तहका कर्मचारीमाथि कारबाही हुँदा सक्रिय देखिने केही समूहहरू यस्ता गम्भीर मानवीय विषयमा मौन रहेकोप्रति आश्चर्य व्यक्त गरिएको छ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने संगठनहरूमा एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआइसी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियन, नेपाल एसबिआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन तथा सिद्धार्थ बैंक कर्मचारी संघ रहेका छन्।