२०८३ साउन १२ मंगलबार

घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको ८० प्रतिशत काम सम्पन्न

ई आर्थिक    बुधबार, जेष्ठ ६ २०८३
532
Shares
घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको ८० प्रतिशत काम सम्पन्न

दाङ । दाङको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रोल्पासहित पहाडी जिल्लामा विद्युत् विस्तार र त्यहाँ उत्पादन हुन थालेको विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण भइरहेको आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको हो।

घोराही उपमहानगरपालिका–३ झिङ्नीदेखि रोल्पाको सुनील स्मृति गाउँपालिका–२ खुग्रीसम्म करिब ३८ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। आयोजना अन्तर्गत सबस्टेसन तथा विद्युत् टावर निर्माणको काम तीव्र गतिमा अघि बढेको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख बमबहादुर बुढाथोकीका अनुसार प्रसारण लाइनका लागि आवश्यक १२१ वटा टावरमध्ये १०१ वटा टावर निर्माण भइसकेका छन् भने अधिकांश क्षेत्रमा तार तान्ने कामसमेत जारी छ।

“जङ्गल क्षेत्रबाहेकका स्थानमा टावर निर्माण र तार तान्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “जङ्गल क्षेत्रमा देखिएको समस्या समाधानका लागि पुनः वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गरेर मन्त्रालय पठाएका छौँ।”

जङ्गल क्षेत्रमा टावर निर्माण गर्न रुख कटान गर्नुपर्ने भएकाले केही ढिलाइ भएको आयोजनाले जनाएको छ।

नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैंकको ६० प्रतिशत लगानीमा करिब एक अर्ब ५० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको हो। आयोजनाअन्तर्गत रोल्पाको खुग्रीमा सबस्टेसन निर्माणसँगै स्टाफ क्वाटर, गार्ड हाउस र कन्ट्रोल भवनलगायतका भौतिक पूर्वाधार निर्माण भइरहेको छ।

आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएको आयोजना आगामी आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि रोल्पा, रुकुमलगायतका ग्रामीण क्षेत्रमा विद्युत् विस्तारमा सहज हुने तथा ती जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

जग्गा प्राप्तिमा भएको ढिलाइका कारण आयोजना सुरु हुन समय लागे पनि पछिल्लो समय निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको आयोजना प्रमुख बुढाथोकीले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणले हाल घोराही–माडीचौर प्रसारण लाइन निर्माण गरिरहेको छ भने माडीचौर हुँदै रुकुमपश्चिमको बाँफीकोटसम्म प्रसारण लाइन विस्तार गर्ने योजना अन्तर्गत सर्वेक्षणको कामसमेत अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij