२०८३ असोज २ शुक्रबार

बेमौसमी वर्षाले बीपी राजमार्ग प्रभावित, रातिको आवागमन अनिश्चितकालका लागि बन्द

ई आर्थिक    बुधबार, बैशाख २३ २०८३
2.4K
Shares
बेमौसमी वर्षाले बीपी राजमार्ग प्रभावित, रातिको आवागमन अनिश्चितकालका लागि बन्द

काभ्रेपलाञ्चोक ।  बेमौसमी वर्षाका कारण पटक–पटक अवरुद्ध हुँदै आएको बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन अनिश्चितकालका लागि बन्द गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मङ्गलबारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार लगातारको वर्षाका कारण रोशी खोलामा बाढी आउँदा अस्थायी डाइभर्सन बग्ने जोखिम बढेको छ। यही कारण सुरक्षालाई मध्यनजर गर्दै रातिको समयमा आवागमन रोकिएको उनले बताए। मौसमी अवस्था सुधार भएपछिमात्रै यातायात पुनः नियमित गरिने जनाइएको छ।

यसअघि सोमबार परेको वर्षाका कारण रोशी गाउँपालिका–७ अन्तर्गत लास्कोट र घुमाउने बीचमा केही सवारीसाधन अलपत्र परेका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पाँचवटा माइक्रोबसमा सवार ८९ यात्रुको उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकेर राखिएको थियो। सुरक्षा निकायले सर्वसाधारणलाई राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गर्दै अर्को सूचना नआएसम्म जोखिमयुक्त खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ।

बेमौसमी वर्षाका कारण रोशी खोलामा आउने बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रदेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाउँदै आएको छ, जसले गर्दा सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि हाल खोलामै डाइभर्सन निर्माण गरी सवारी सञ्चालन भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार प्रभावित क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij