अनलाइन प्रणालीमार्फत नवीकरण, नयाँ सदस्यता र अभिलेख व्यवस्थापन गर्ने तयारी
काठमाडौं : नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो बैठकमा प्रस्तावित प्रणाली र यसको कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको हो।
बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेश तहका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संगठन विभागले प्रस्तुत गरेको प्रदर्शनात्मक प्रणालीमार्फत अब सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापन अनलाइनमार्फत गर्ने योजना अघि सारिएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, संगठन विभागका संयोजक तथा केन्द्रीय सचिव भानुभक्त ढकालले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य रहेको बताए। उनले केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणाली लागू गर्नु आवश्यक रहेको औंल्याए।
संगठन विभागका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ । यो प्रणाली सातै प्रदेश, सबै जिल्ला र देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ लागू गर्ने तयारी गरिएको छ ।
यससँगै प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सम्बन्धी सहजीकरण गरिनेछ भने पार्टी गतिविधिसँगै सदस्यता नवीकरणलाई जोडिने व्यवस्था मिलाइनेछ। अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्मका नेताहरूको बायोडाटा संकलन तथा अभिलेखीकरण गरिनेछ।
यसअघि संगठन विभागको बैठकले जेठ मसान्तसम्म सदस्यता नवीकरण गर्ने अन्तिम मिति तोक्ने प्रस्ताव अघि सारेको थियो। विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ ।