काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड) को २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेज मा सम्पन्न सभामा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको उपस्थिति रहेको कम्पनीले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।
शेयरधनीहरूका लागि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सो अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
यसैगरी, कम्पनीले आफ्नो जारी पूँजीको निश्चित प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने प्रस्ताव पनि पारित गरेको जनाएको छ।
यसैबीच, कम्पनीको सहायक संस्था युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेड ले पनि आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।