काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्वअध्यक्ष समेत रहेका उनलाई बिहीबार काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।
उनीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत दफा ९४, ९५, ९६ को उपदफा (१) तथा दफा ९८ बमोजिम कसुरमा गोल्छासहितको मिलेमतो देखिएको प्रारम्भिक निष्कर्ष छ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) भएको आशंकामा धितोपत्र बोर्डले अनुसन्धान सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको हो।
गोल्छालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्ट को व्यावसायिक कारोबारमा पनि गोल्छाको संलग्नता देखिएको बताइएको छ।
धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा विभिन्न बीमा कम्पनीहरूको कोष (फन्ड) प्रयोग गरी विभिन्न कम्पनीहरूको सेयरमा चलखेल गरिएको उल्लेख छ। उक्त विषयमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।