२०८३ साउन १२ मंगलबार

कच्चा पदार्थ र इन्धन महँगिँदा प्रशोधित पानीको मूल्य बढ्ने संकेत, बजार मूल्य समायोजन गर्न उद्योगहरूलाई महासंघको आग्रह

ई आर्थिक    शनिबार, बैशाख ५ २०८३
1.7K
Shares
कच्चा पदार्थ र इन्धन महँगिँदा प्रशोधित पानीको मूल्य बढ्ने संकेत, बजार मूल्य समायोजन गर्न उद्योगहरूलाई महासंघको आग्रह

काठमाडौँ : नेपालमा प्रशोधित पिउने पानीको मूल्य बढ्ने संकेत देखिएको छ। नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ र इन्धनमा भएको निरन्तर मूल्यवृद्धिका कारण बजार मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।

महासंघले हालै जारी गरेको सर्कुलरमा लागत विश्लेषण र वर्तमान आर्थिक अवस्थाको मूल्याङ्कनपछि पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको निष्कर्ष निकालिएको उल्लेख छ। महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीका अनुसार पानी उत्पादनमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल र जारजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्च बढाएको र अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले उत्पादन लागत असामान्य रूपमा उकालो लागेको महासंघले जनाएको छ। महासंघले रुस–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावले नेपालका उद्योगहरू प्रत्यक्ष प्रभावित भएको बताएको छ।

‘बढ्दो उत्पादन लागत र ढुवानी खर्चका कारण मूल्य समायोजन अपरिहार्य बनेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले यो निर्णय नाफामूलक नभई उद्योगको अस्तित्व जोगाउन बाध्यात्मक रूपमा लिइएको स्पष्ट पारेको छ। हाल देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा करिब १५ अर्ब रुपैयाँ लगानी रहेको छ र ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

यसैबीच महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न तथा उद्योगमैत्री नीतिगत व्यवस्था गर्न कूटनीतिक पहल आवश्यक रहेको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij