२०८३ साउन १० आइतबार

निर्माण क्षेत्रमा संकट गहिरिँदै, ‘निर्माण आपतकाल’ घोषणा गर्न सरकारसँग माग

ई आर्थिक    शुक्रबार, बैशाख ४ २०८३
988
Shares
निर्माण क्षेत्रमा संकट गहिरिँदै, ‘निर्माण आपतकाल’ घोषणा गर्न सरकारसँग माग

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले काम ठप्प हुने अवस्था, व्यवसायीद्वारा ज्ञापनपत्र पेश

घोराही : इन्धनको मूल्यवृद्धिसँगै समग्र बजारमा देखिएको महँगीले निर्माण क्षेत्रमा गम्भीर असर परेको भन्दै निर्माण व्यवसायीहरूले ‘निर्माण आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेका छन्।

दाङ निर्माण व्यवसायी संघले मूल्यवृद्धिबाट प्रभावित निर्माण क्षेत्रको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई अपिल गर्दै यस क्षेत्रलाई मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ।

संघका अध्यक्ष प्रवीणकुमार भण्डारीका अनुसार डिजेल, पेट्रोल र मट्टितेलजस्ता इन्धनमा पटक–पटक भएको अत्यधिक तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको छ। उनले यस्तो अवस्थाले निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने जोखिम बढेको बताए।

इन्धनको मूल्य बढेसँगै निर्माण कार्यका लागि अत्यावश्यक सामग्री—जस्तै विटुमिन, सिमेन्ट र डन्डी—को मूल्य पनि निरन्तर बढ्दै गएको छ। यसले व्यवसायीलाई काम सञ्चालन गर्न कठिन बनाएको छ। “मूल्यवृद्धिका कारण काम गर्नै नसक्ने अवस्था आएको छ, बाध्य भएर काम रोक्नुपर्ने स्थिति बनेको छ,” अध्यक्ष भण्डारीले भने।

बजारमा निर्माण सामग्रीको अभाव समेत देखिन थालेको छ, जसले विकास निर्माणका गतिविधिलाई थप प्रभावित बनाएको छ। साथै, देशका विभिन्न स्थानमा देखिएको क्रसर उद्योगसम्बन्धी समस्याले पनि निर्माण क्षेत्रका लागि थप चुनौती थपेको संघले जनाएको छ।

संघले पटक–पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधानका लागि ठोस पहल नभएको गुनासो गरेको छ।

हालको जटिल परिस्थितिमा व्यवसायीलाई राहत, सहुलियत र यथार्थपरक मूल्य समायोजन लागू गर्न माग गर्दै संघले बिहीबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष भण्डारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसमक्ष उक्त ज्ञापनपत्र पेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij