काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका क्रममा नेपाली कांग्रेस ले आफ्नो ‘प्रतिज्ञा पत्र’ फागुन ६ गते जनकपुरमा आयोजना हुने आमसभामार्फत सार्वजनिक गर्ने भएको छ।
यसअघि फागुन ३ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको थियो। तर अब उक्त कार्यक्रम सारेर फागुन ६ गते जनकपुर मा हुने आमसभाबाट सार्वजनिक गरिने जनाइएको छ।
पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले विज्ञप्ति जारी गर्दै कार्यक्रमको स्थान र मिति परिवर्तन गरिएको जानकारी दिएका हुन्।
संवत् २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले आफ्नो प्रतिबद्धता तथा योजनाहरू समेटिएको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो।
‘जय नेपाल’ नारासहित जारी सूचनामा सम्बन्धित सबैलाई जानकारी गराइएको उल्लेख गरिएको छ।