आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरिसकेको प्रशासनले जनाएको छ।
सोमबार जारी गरिएको सूचनामा प्रशासनले मिति २०८२ साल माघ १४ गते निर्वाचन आचारसंहिता लागू भई त्यसको परिपालना गर्न सम्बन्धित सबै पक्षलाई जानकारी गराइसकिएको उल्लेख गरेको छ।
प्रशासनले माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम तय भएको सूचना प्राप्त भएकाले उक्त कार्यक्रम आचारसंहिताको दायराभित्र रहेर सञ्चालन गर्न आग्रह गरेको छ। आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न तथा नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको प्रशासनले जनाएको छ।
यसअघि रास्वपाले मंगलबार लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्रमा जाने र उम्मेदवारसहित पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएको थियो।
प्रशासनले निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएमा कानुनअनुसार कारबाही हुने स्पष्ट संकेतसमेत दिएको छ।
