वीरगंज । जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले गरेको पछिल्लो गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। उद्योगका अनुसार श्रमिक युनियनले बोनसको विषयलाई लिएर पत्रकार सम्मेलन गरी उद्योगको आन्तरिक विषयवस्तु सार्वजनिक गर्नुका साथै तथ्यहीन आरोप लगाएको जनाएको छ।
उद्योगले जारी गरेको विज्ञप्तिमा मिति २०८२ मंसिर ८ गते आयोजित पत्रकार सम्मेलनमा बोनस ऐन र नियमअनुसार नबुझी मनोमानी रूपमा बोनस रकम माग गरिएको र मागअनुसार रकम नपाएपछि उद्योग व्यवस्थापनलाई धम्की दिइएको आरोप लगाइएको छ। युनियनका कारण उद्योग परिसरमा असहज वातावरण सिर्जना भएको र बाह्य व्यक्तिहरूलाई समावेश गरी उद्योगविरुद्ध गलत सन्देश प्रवाह गरिएको दाबी उद्योगको छ।
बोनस वितरणसम्बन्धी विवाद समाधानका लागि श्रम कार्यालय वीरगंज, पर्सासँग सहजीकरणको आग्रह गरिएको भए पनि गैरकानुनी रूपमा अतिरिक्त रकम माग गर्दै उद्योग बन्द गरिने चेतावनी दिइएको उद्योगले जनाएको छ। त्यसपछि न्यायिक निकासका लागि अदालतको शरण लिनुपरेको र सो विषयमा अदालतबाट फैसला भइसकेको पनि उद्योगको भनाइ छ।
अदालतको निर्णयपछि पनि आधिकारिक ट्रेड युनियनले बोनसको विषयलाई लिएर पुनः उद्योग बन्द गर्ने धम्की, पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत दबाब दिने कार्य गरिरहेको उद्योगको आरोप छ। युनियनबाट अन्य उद्योगहरूमा भएको दुव्र्यवहारजस्तै व्यवहार गरिने धम्की आएको र त्यसकै कारण पछिल्लो तीन महिनादेखि उद्योग व्यवस्थापन पक्ष उद्योग परिसरमा उपस्थित हुन नसकेको जनाइएको छ।
जगदम्बा स्टील्सले कम्पनी बोनस ऐन, २०३० अनुसार कानुनी रूपमा बोनस वितरण गर्न आफू सधैं तयार रहेको स्पष्ट पारेको छ।
