गोपीकृष्ण न्यौपाने
यतिवेला इम्बोस्ड नम्बर प्लेट अनिवार्य विषय चर्चाको शिखरमा छ । यसको समर्थन र विरोध गर्ने दुबै थरी भेटिन्छन् । समर्थन र विरोधको चर्चा चलिरहँदा मैले यसको केही महत्वहरु देखेको बुझेको छु । जुन सर्वपक्षीय हितको लागि हुने मेरो निष्कर्ष हो । इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा की नेपाली भाषामा भन्ने कुराले त्यत्ति महत्त्व राख्दैन, इम्बोस्ड नम्बर प्लेट किन भन्ने बारेमा जानकारी राखौं ।
१. यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन्। प्लेटमा लेखिएका अक्षरहरु बाहिरै देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ ।
२. यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ। त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन। किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ।
३. इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीपसहितको स्टीकर टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन्।
४. यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन्। जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ।
५. प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेक जाँच गर्न सक्छ । स्मार्ट ब्लु(बुक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ।
६. यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिन सहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ।
७. काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेष गरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसीनसहितका गेटहरु जडान हुनेछन् । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ। यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने छ। (न्यौपाने आर्थिक क्षेत्रका जानकार मध्येमा पर्नुहुन्छ )