ई-आर्थिक, काठमाडौं । गत असार २३ गते रसुवाको चिलिमे खोलामा आएको भीषण बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा परेको क्षतिको बीमा दाबी रकम करिब ९ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ पुगेको छ। बीमा समितिले दिएको जानकारी अनुसार, साउन २२ गतेसम्म बीमा कम्पनीहरूले प्राप्त गरेका प्रारम्भिक दाबी विवरणको संकलनमा यस्तो तथ्य देखिएको हो।
बाढीबाट क्षति पुगेका संरचना र साधनहरूको बीमा गरिएको थियो, जसअन्तर्गत ११ वटा बीमा कम्पनीहरू मार्फत ७८ वटा बीमा दाबी दर्ता भएका छन्।
दाबी रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमाथि सबैभन्दा बढी दाबी परेको छ। कम्पनीले दुई वटा दाबीमार्फत ५ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसपछि शिखर इन्स्योरेन्सले १५ वटा दाबीबाट १ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ तिर्नुपर्नेछ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६ वटा दाबीमा ८ करोड ७३ लाख रुपैयाँ, सालनमणि–सिआईसी इन्स्योरेन्सले ६ वटा दाबीमा ६ करोड ८४ लाख रुपैयाँ, र नेक्टर इन्स्योरेन्स लिमिटेडले ५ वटा दाबीमा ५ करोड ६७ लाख रुपैयाँ तिर्नुपर्ने विवरण छ।
अन्य दाबी पर्ने कम्पनीहरूमा सगरमाथा लूश्विनी, युनाइटेड मोदी, आईसीआई प्रुडेन्सियल, एनएलआई, सिद्धार्थ प्रिमियर र प्रभु इन्स्योरेन्स छन्।
बीमा लेख प्रकारअनुसार हेर्दा, सबैभन्दा धेरै दाबी सवपक्षी बीमा (Property All Risk) मा परेको छ, जसमा ६ वटा दाबीबाट मात्रै ६ अर्ब १४ करोड ७० लाख रुपैयाँ माग गरिएको छ।
त्यसपछि सामुद्रिक बीमातर्फ ९ वटा दाबीमा २ अर्ब २० करोड ४२ लाख रुपैयाँ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ ५ वटा दाबीमा ५ करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (थर्ड पार्टी) मा १६ वटा दाबीमा ५ करोड ५८ लाख रुपैयाँ, र कमर्सियल मोटर बीमामा ४२ वटा दाबीमा ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
बीमा समितिका अनुसार, दाबी मूल्याङ्कनको कार्य अझै जारी छ र प्रारम्भिक तथ्यांकमा समेत केही परिवर्तन हुनसक्नेछ। समितिले दाबी मूल्याङ्कनलाई छरितो बनाउँदै पारदर्शिताका साथ बीमितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
