ई-आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सुरु गरेको https://auctionassistance.nicasiabank.com पोर्टलमार्फत बैंकको नाममा रहेको बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितोमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सकिनेछ।
ग्राहकले बैंकले प्रकाशित गरेको सूचना वा पोर्टलमा रहेको QR कोड स्क्यान गरी लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सक्नेछन्। साथै, ग्राहकले इच्छाएको सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमै रहेको म्यासेज बक्स प्रयोग गरी सम्पर्क विवरणसहित सिधा सोधपुछ गर्न सक्ने सुविधा पनि बैंकले उपलब्ध गराएको छ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, पोर्टलमा लिलाम बिक्रीका सम्पत्तिहरू र तिनीहरू सम्बन्धी सूचना नियमित रूपमा अपडेट गरिनेछ।
उनले भने, “ग्राहक महानुभावहरूले पोर्टलमार्फत सम्पत्तिको सम्पूर्ण विवरण सहज रूपमा प्राप्त गरी आफूलाई आवश्यक सम्पत्ति खरिदमा सहजता पाउने विश्वास लिएका छौं।”
बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत लिलाम प्रक्रिया पारदर्शी, सरल र प्रभावकारी बनाउने प्रयासस्वरूप यो सेवा सुरु गरेको हो।